कौसी खेतीको लागि स्थल छनौट गर्दा बालीको आवश्यकता अनुसार प्रशस्त घाम लाग्ने ठाउँ वा छहारी पर्ने ठाउँ तथा सजिलोसँग पानी दिन सकिने ठाँउको छनौट गर्नुपर्छ । प्रयोग गर्न सकिने स्थान र त्यहाँ लगाउन सकिने बालीका किसिमहरु:
-
कौसी: सामान्य सबै किसिमका तरकारी, फूल तथा फलफुलहरु
-
बरण्डा: जडीबुटी तथा मसला बाली
-
घाम लाग्ने भित्ता: बोट्टललाई भित्तामा टाँगेर साना जरा हुने बाली तथा फूलहरु
-
बरण्डाको रेलिङ्ग: आकर्षक फूलहरु तथा लहरे बालीहरु
-
सिडीको छेउ: घामको तापक्रम कम चाहिने बास्नादार बिरुवा तथा फूलहरु
-
घर–कम्पाउण्डको पर्खाल: लहरा लाग्ने बालीहरु
पुनश्चः कतिपय घर, बरण्डाहरु प्राविधिक डिजाइन अनुसार नबनाइएको वा पुरानो छ भने कौसी खेतीगर्नु अघि भार थाम्न सक्ने नसक्ने बारे सम्बन्धित प्राविधिकको सल्लाह लिनु जरुरी हुन्छ ।
बालीहरूको किसिम र छनौट
कौसीमा खेती गर्न धेरै किसिमका बालीहरूको छनौट गर्न सकिन्छ जस्तै फलफूल बाली, तरकारी बाली, मसला बाली आदि । यहाँ मुख्यमुख्य बालीहरूबारे छोटकरी वर्णन गरिएको छ ।
