तपाईंहरुमध्य कतिजना फल ठूलो बनाएर टिप्छु भनेर धेरै समय बोटमै राख्नु हुन्छ होला तर के तपाईंलाई थाहा छ यसो गर्नाले नयाँ आउने फललाई असर पार्दछ तथा ताजा तरकारी धेरै छिपिएमा पौष्टिक तङ्खव नाश हुन्छ । फल धेरै छिपिएर टिपेमा स्वाद र बजार भाउ पनि घट्छ । कलिला फल खाइने तरकारीमा जति जति फल टिपिन्छ उतिनै नयाँ चिचिला लाग्दै जान्छ त्यसैले ठीक अवस्थामै टिपेर उपभोग गर्नुपर्दछ । फल टिप्दा बोट, हाँगा तथा पात कतै पनि घाउ तथा चोट पुग्नु हुँदैन । फल टिप्दा सिकेचर वा कैंची प्रयोग गर्नुपर्दछ । तरकारी खाने अवस्थामा टिप्नुपर्छ, जस्तै गोलभेंडा पाकेको अवस्थामा र सिमी, बोडि रामतोरिया, भन्टा जस्ता फल तरकारी नछिप्पिदै कलिलो अवस्थामा टिप्नु पर्छ । सागपातहरू जस्तै रायो, पालुंगो, स्विसचार्ड पनि पात छिपिनु अगाडि नै टिप्नु पर्छ । लौका, करेला, काँक्रो, झिंगनी, घिरौला आदि पनि कलिलै अवस्थामा टिप्नु पर्छ । मूला, गाजर, सलगम जस्ता जरे तरकारी बाली पनि छिप्पिनु अगाडि नै टिप्नु पर्छ । तरकारी विहानै अथवा बेलुकी टिप्ने गर्नुपर्छ । गोलभेडा पाक्न थालेपछि २ दिन बिराएर टिप्नु पर्दछ । भण्टा, भेडेखुर्सानी ४-४ दिनको फरकमा टिप्नु पर्दछ ।
