छिमेकी रमेशले लुगा धोएको अन्तिमतिरको पानी एउटा सानो ट्याङ्कीमा सङ्कलन गरिराखेको देखेपछी मोहनले अचम्म हुँदै किन त्यसो गरेको भनेर जान्दै छन । आउनुहोस्, हामी पनी उहाँहरुको कुरकानी सुनौँ । आखिर कुरा के रहेछ त?
मोहन: हैन रमेश जी, लुगा धोएको पानी नफालेर अर्को ट्याङ्की पो भर्दै हुनुहुन्छ त! त्यो पानी किन राख्नुभएको ?
रमेश: किन हुनु नि मोहन जी, शहर मा पानीको हाहाकार भएको त तपाईं हामी सबैलाई थाहा छ । आफूले छतमा अलिअली तरकारी लगाएको, तीन मै पानी लगाउनलाई लुगा धोएको अन्तिम तिरको सफा पानी जम्मा गरेर राखेको नि ।
मोहन: लौ, अनि लुगा धोएको पानी बिरुवामा लगाउन हुन्छ र, रमेश जी ?
रमेश: किन नहुनु, मज्जाले हुन्छ । लुगा धोएको अन्तिमतिरको १-२ पानी त सफै हुन्छ, पानी नभएको बेलामा यसरी पानी सङ्कलन गर्दा बिरुवालाई पानी पनी पुग्ने अनि पानीको पनी बचत हुने ।
मोहन: यो त एक तिर दो निशान पो रहेछ त!
रमेश: त्यती मात्र कहाँ हो र, हामी त चामल पखालेको, तरकारी पखालेको भान्सा बाट निस्कने पानी पनी सङ्कलन गर्छौँ । यसरी प्रयोग गरेर सङ्कलन गरेको पानीलाई खैरो पानी भनिन्छ । अझ कती जनाले त घरमा प्रशोधन गर्ने जुक्ती लगाएर नुहाएको अनि भाँडकुँडा माझेर पखालेको पानी पनी प्रशोधन गरेर बालीमा लगाउँछन ।
मोहन: ओहो रमेश जी सार्है काइदाको कुरा गर्नुभयो, म त आजसम्म कौसीमा लगाएको बिरुवामा पनी किनेकै पानी लगाइरहेको थिएँ, अब देखी म पनी खैरो पानी सङ्कलन गरेर बिरुवामा लगाउँछु । तपाईंलाई धन्यवाद छ है, यस्तो राम्रो उपाय सिकाइदिनुभएकोमा ।
रमेश: छिमेकीले एकअर्का बाटै सिक्ने त हो नि मोहना जी!
