Course Content
कौसीमा विभिन्न प्रबिधीहरु
शहरी करेसा

गड्यौलीमल (भर्मीकम्पोष्ट): माटोलाई खुकुलो पार्ने गड्यौलाहरु किसानको साथी भनेर त धेरै अघी देखी चिनिदैँ आएका छन्, तर मल बनाउन प्रयोग गरिन थालेपछी गड्यौला हमी सबैको सबभन्दा मिल्ने साथी बनेको छ । विशेष प्रजातिका गड्यौलाको प्रयोग गरी प्राङ्गारिक फोहोरबाट बनाइएको गुणस्तर र पौष्टिक तत्वयुक्त कम्पोस्ट भनेको गड्यौलीमल मल हो । गड्यौलाको प्रयोग गरी मल बनाउने प्रविधिलाई भर्मिकल्चर भनिन्छ ।

  • गड्यौला मल बनाउनका लागी प्रयोग गरिने गड्यौलाका प्रजातीहरु: माटोमा पाइने गड्यौलाहरु एकै प्रकारका देखिए तापनि नियालेर हेरयो भने तिनीहरूको आकार, प्रकार तथा रंगहरू समेत भिन्दा भिन्दै हुन्छ्न् । मल बनाउन विशेषगरी आइसिनिया फोइटिडा (Eisenia foetida) र युड्लिस युजिनिया (Eudrillus eugenae) प्रजातिका गड्यौलाहरु प्रयोग गरिन्छ । यी प्रजातिको गड्यौलाहरू अरू प्रजातिका गड्यौलाहरू भन्दा छिटो खाना खाने, पाचन छिटो गर्ने क्षमता भएका र छिटो मल उत्पादन गर्ने क्षमता भएका हुन्छन्।

गड्यौला मल उत्पादन गर्ने तरिका

घरमा गड्यौला पाल्दा कुनै पनि भाँडा जस्तै काठको बाकस, बाँसको टोकरी, बाटा, सिमेन्टको टप, डालो आदि प्रयोग गर्न सकिन्छ । कुनै पनि आकार र क्षमताको भएपनि भाँडाको चौडाइ र उचाइ १–१ फिट भएको र पिँधमा चुहिने व्यवस्था भएको हुनु पर्दछ । खुल्ला ठाउँमा गड्यौला पाल्दा छायाँ भएको ठाउँ वा छानाको व्यवस्था भएको ठाउँको प्रयोग गर्न सकिन्छ ।

घरेलु स्तरमा गड्यौला पाल्न काठको बाकस, बाटा, डाला, बाल्टिन उपयुक्त हुन्छ तर ती वस्तुहरूमा पानीको निकास हुन अनिवार्य हुन्छ ।

गड्यौलाको बिछ्यौनाको लागि पिँधमा नरिवलका जटा, पराल, छ्वाली वा कागजको टुक्रा जस्ता हलुका खस्रो पदार्थलाई राम्रोसँग भिजाएर करिब दुई इन्च जति बाक्लो ओछ्यान तयार गर्नु पर्दछ र त्यसमाथि माटो, कम्पोस्ट वा काठको धुलो राख्नु पर्दछ ।

एक वर्गमिटर क्षेत्रफल भएको बाकसमा करिब २००० को संख्यामा कम्पोस्ट

बनाउने विशेष प्रकारको गड्यौला राख्नु पर्दछ ।

बिस्तारै बिछ्यौनाको रूपमा प्रयोग गरिएका वस्तुहरू गल्दै जान्छन् र त्यसमाथि करिब १ इन्च जति वाक्लो हुने गरी सुकेको गोबरलाई पानीमा भिजाएर राख्नु पर्दछ जसले गर्दा गड्यौला र यसका बच्चाहरू चाँडै नै हुर्कन सक्दछन् र मल पनि चाँडै तयार हुन्छ ।

त्यसमाथि घरको भान्छाबाट निस्कने बासी खानेकुराहरू, तरकारी, फलफूल आदिलाई स–साना टुक्रा बनाई गड्यौलाको खानाको रूपमा राखिन्छ । खानेकुरा राखिसकेपछि भाँडालाई सधैँ भिजेको बोरा या कपडाले छोपी राख्नुपर्ने हुन्छ ।

यसरी गड्यौला पाल्न सुरु गरेको ३–४ महिनामा गड्यौली मल तयार हुन्छ । संकलित मलमा थोरै मात्रामा गोबरको झोल राखी २–३ हप्तासम्म ओसिलो ठाउँमा राख्नु पर्दछ । त्यसपछि गड्यौला छुट्याएर मललाई बिरुवामा प्रयोग गर्न सकिन्छ ।

  • मल सङ्कलन गर्ने तरिका: मल तयार भएको नभएको थाहा पाउन यसको रूपरङमा ख्याल गर्नु पर्दछ । फुस्रो रङ र यसको गन्ध नआउने भएपछि मल तयार भएको बुझनु पर्दछ । यस अवस्थापछि थप फोहोर, गोबर र पानी हाल्न बन्द गर्नु पर्दछ । अनि त्यसको १०–१५ दिनपछि माथिको राम्रोसँग तयार भैसकेको, ३ देखि ४ इन्च तह र पिँधको १ इन्च प्रारम्भिक मदर कल्चरलाई छोडेर बाँकीलाई मलको रूपमा प्रयोग गर्न सकिन्छ ।
Scroll to Top