नर्सरी: एकपटक कल्पना गर्नुहोस त, मानौं तपाईलाई पौडी खेल्न आउँदैन रे अनि तपाईंलाई सिधै समुद्रमा लगेर ल बाँचेर आइज भनेर कसैले छोडिदियो भने तपाइँ बाँच्ने सम्भावना कती होला? कल्पना गर्न पनी गार्हो छ नि है? एउटा बिउलाई सोझै बारी वा ठुलो भाँडामा राख्नु भनेको पनिल पौडी खेल्न न आउनेलाई समुद्रमा छोडे सरह हो । तरकारी तथा अन्य बालीहरूको बीउ एवम् अन्य प्रसारण अङ्गलाई छुट्टै सानो ठाउँमा विशेष हेरचाह र स्याहार पुर्याउँदै बेर्ना हुर्काएर मुख्य खेती गर्ने ठाउँमा सार्न लायक बनाउने थलो वा ठाउँलाई नर्सरी भनिन्छ । तर सबै बालीलाई नर्सरी नै चाहिन्छ भन्ने हुँदैन ।
- सोझै रोपिने वा छर्ने तरकारीहरूमा चम्सुर, पालुङ्गो, मेथी, बोडी, सिमी, मूला, सलगम, केराउ, बकुल्ला, भिण्डी आदि पर्दछन् ।
- नर्सरीमा बेर्ना तयार गरी स्थायी स्थानमा सार्नपर्ने तरकारीहरूमा काउली, बन्दा, ब्रोकाउली, ग्याँठकोपी, रायो, स्विसचार्ड, जिरीको साग, प्याज, कुरिलो, गोलभेंडा, भण्टा, खुर्सानी आदि पर्दछन् ।
- लहरे बालीहरू जस्तै ईस्क्वास, काँक्रो, लौका, फर्सी, घिरौंला, तीते करेला आदि बालीहरूलाई भने पोलीब्याग वा प्लाष्टिकका कपमा बेर्ना तयार पारी रोप्दा राम्रो हुन्छ।
- काउलीबाली समूहका तरकारी बालीहरूलाई भने सानै अवस्थामा केहि पातको गरी अर्को नर्सरीमा पुनः सार्नु पर्छ जसलाई बेर्ना जर्खर्याउने भनिन्छ तर अगौटे जातका काउलीका बेर्नालाई भने जर्खर्याई रहन पर्दैन ।
नर्सरीमा बेर्ना तयार गर्नुका मुख्य उद्देश्यहरु:
- बीउको अधिकतम सदुपयोग गर्न,
- हृष्टपुष्ट बेर्ना उत्पादन गर्न,
- सानो क्षेत्र भएकाले प्रतिकूल मौसममा पनि उपयुक्त वातावरण बनाउन,
- रोग तथा कीराको प्रकोप घटाउन,
- छिटो र सजिलो तरिकाले बेर्ना हुर्काउन,
- बेर्नाको हेरचाहमा सजिलो पार्न,
- बढी तथा गुणस्तरीय उत्पादन लिन।
