गड्यौलीमल (भर्मीकम्पोष्ट): माटोलाई खुकुलो पार्ने गड्यौलाहरु किसानको साथी भनेर त धेरै अघी देखी चिनिदैँ आएका छन्, तर मल बनाउन प्रयोग गरिन थालेपछी गड्यौला हमी सबैको सबभन्दा मिल्ने साथी बनेको छ । विशेष प्रजातिका गड्यौलाको प्रयोग गरी प्राङ्गारिक फोहोरबाट बनाइएको गुणस्तर र पौष्टिक तत्वयुक्त कम्पोस्ट भनेको गड्यौलीमल मल हो । गड्यौलाको प्रयोग गरी मल बनाउने प्रविधिलाई भर्मिकल्चर भनिन्छ ।
- गड्यौला मल बनाउनका लागी प्रयोग गरिने गड्यौलाका प्रजातीहरु: माटोमा पाइने गड्यौलाहरु एकै प्रकारका देखिए तापनि नियालेर हेरयो भने तिनीहरूको आकार, प्रकार तथा रंगहरू समेत भिन्दा भिन्दै हुन्छ्न् । मल बनाउन विशेषगरी आइसिनिया फोइटिडा (Eisenia foetida) र युड्लिस युजिनिया (Eudrillus eugenae) प्रजातिका गड्यौलाहरु प्रयोग गरिन्छ । यी प्रजातिको गड्यौलाहरू अरू प्रजातिका गड्यौलाहरू भन्दा छिटो खाना खाने, पाचन छिटो गर्ने क्षमता भएका र छिटो मल उत्पादन गर्ने क्षमता भएका हुन्छन्।
गड्यौला मल उत्पादन गर्ने तरिका
– घरमा गड्यौला पाल्दा कुनै पनि भाँडा जस्तै काठको बाकस, बाँसको टोकरी, बाटा, सिमेन्टको टप, डालो आदि प्रयोग गर्न सकिन्छ । कुनै पनि आकार र क्षमताको भएपनि भाँडाको चौडाइ र उचाइ १–१ फिट भएको र पिँधमा चुहिने व्यवस्था भएको हुनु पर्दछ । खुल्ला ठाउँमा गड्यौला पाल्दा छायाँ भएको ठाउँ वा छानाको व्यवस्था भएको ठाउँको प्रयोग गर्न सकिन्छ ।
– घरेलु स्तरमा गड्यौला पाल्न काठको बाकस, बाटा, डाला, बाल्टिन उपयुक्त हुन्छ तर ती वस्तुहरूमा पानीको निकास हुन अनिवार्य हुन्छ ।
– गड्यौलाको बिछ्यौनाको लागि पिँधमा नरिवलका जटा, पराल, छ्वाली वा कागजको टुक्रा जस्ता हलुका खस्रो पदार्थलाई राम्रोसँग भिजाएर करिब दुई इन्च जति बाक्लो ओछ्यान तयार गर्नु पर्दछ र त्यसमाथि माटो, कम्पोस्ट वा काठको धुलो राख्नु पर्दछ ।
– एक वर्गमिटर क्षेत्रफल भएको बाकसमा करिब २००० को संख्यामा कम्पोस्ट
बनाउने विशेष प्रकारको गड्यौला राख्नु पर्दछ ।
– बिस्तारै बिछ्यौनाको रूपमा प्रयोग गरिएका वस्तुहरू गल्दै जान्छन् र त्यसमाथि करिब १ इन्च जति वाक्लो हुने गरी सुकेको गोबरलाई पानीमा भिजाएर राख्नु पर्दछ जसले गर्दा गड्यौला र यसका बच्चाहरू चाँडै नै हुर्कन सक्दछन् र मल पनि चाँडै तयार हुन्छ ।
– त्यसमाथि घरको भान्छाबाट निस्कने बासी खानेकुराहरू, तरकारी, फलफूल आदिलाई स–साना टुक्रा बनाई गड्यौलाको खानाको रूपमा राखिन्छ । खानेकुरा राखिसकेपछि भाँडालाई सधैँ भिजेको बोरा या कपडाले छोपी राख्नुपर्ने हुन्छ ।
– यसरी गड्यौला पाल्न सुरु गरेको ३–४ महिनामा गड्यौली मल तयार हुन्छ । संकलित मलमा थोरै मात्रामा गोबरको झोल राखी २–३ हप्तासम्म ओसिलो ठाउँमा राख्नु पर्दछ । त्यसपछि गड्यौला छुट्याएर मललाई बिरुवामा प्रयोग गर्न सकिन्छ ।
- मल सङ्कलन गर्ने तरिका: मल तयार भएको नभएको थाहा पाउन यसको रूपरङमा ख्याल गर्नु पर्दछ । फुस्रो रङ र यसको गन्ध नआउने भएपछि मल तयार भएको बुझनु पर्दछ । यस अवस्थापछि थप फोहोर, गोबर र पानी हाल्न बन्द गर्नु पर्दछ । अनि त्यसको १०–१५ दिनपछि माथिको राम्रोसँग तयार भैसकेको, ३ देखि ४ इन्च तह र पिँधको १ इन्च प्रारम्भिक मदर कल्चरलाई छोडेर बाँकीलाई मलको रूपमा प्रयोग गर्न सकिन्छ ।
