Course Content
कौसीमा विभिन्न प्रबिधीहरु
शहरी करेसा

लहरे बालीमा भाले र पोथी फूल छुट्टा छुट्टै हुन्छन् । पोथीको अनुपातमा भाले एकदम धेरै हुन्छन् । फूल/मुन्टा निमोठ्ने विधि वा थ्री जी कटिङ प्रविधि एउटा यस्तो तरिका हो, जसको प्रयोग गरी लहरे बालीमा भाले फूलको सङ्ख्या घटाई पोथी फूलको सङ्ख्या बढाउन सकिन्छ । यो विधि विशेष गरी लहरे बाली परिवार अन्तर्गत पर्ने बाली जस्तै : काँक्रा, फर्सी, घिरौँला, करेला, लौका आदिमा प्रयोग गरिन्छ । यो तरिकाले यी बालीमा सामान्य अवस्थामा १४ः१ को अनुपातमा हुने भाले तथा पोथी फूललाई ४ः१ को अनुपातमा ल्याउँछ र उत्पादन वृद्धि हुन्छ ।

सामान्य अवस्थामा बुझ्दा थ्री जी कटिङ भनेको मुन्टा चुँड्ने काम हो । हामीले इस्कुस र फर्सीको मुन्टा टिपे जसरी नै सबै लहरेबालीको मुन्टा चुँड्नु फाइदाजनक हुन्छ । इस्कुसको मुन्टा चुँडिएन भने इस्कुस कम फल्छ । मुन्टा टिपेको इस्कुसको लहरा फैलिन्छ र धेरै फल्छ । यो प्रक्रिया अन्य लहरे बालीमा पनि गर्न सकिन्छ ।

सर्वप्रथम बिरुवाको फेदैदेखि पाँचवटा पातको विकास हुँदासम्म बिरुवामा कुनै पनि प्रकारको हाँगा आउन दिनु हुँदैन । पहिलो आउने हाँगामा पोथी फूलको विकास हुँदैन। जब बिरुवाको उचाइ वा लम्बाइ २–३ हातको हुन्छ तब लहरे बालीको बिरुवाको टुप्पो (२ इन्च जति) काटिदिनु पर्छ । काट्दा धारिलो कैँचीको प्रयोग गर्नु पर्छ । यसरी मुख्य हाँगाको माथिको भाग काट्दा त्यसको छेउबाट थुप्रै हाँगाको विकास हुन्छ । छेउबाट आएका हाँगा २–३ फिट लामो वा हाँगामा ७–१० वटा पातको विकास भइसकेपछि फेरि दोस्रो पटक उक्त हाँगाको टुप्पा काटिदिनु पर्छ । अब दोस्रो पटक आएका हाँगाको टुप्पा हटाउँदा फेरि तेस्रो पटक ती हाँगामा नयाँ पालुवाको वृद्धि विकास भई तेस्रो पुस्तादेखि पोथी फूलको सङ्ख्यामा वृद्धि हुने गर्छ्र । यसो गर्दा भाले तथा पोथी फूलको अनुपातमा सन्तुलन हुन आउँछ ।

Scroll to Top